काठमाडौं । नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा अब खरिदकर्ताहरू अनिवार्य रूपमा यातायात व्यवस्था कार्यालय धाउनु नपर्ने भएको छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा केही प्रावधानहरू संशोधन गर्दै मन्त्रीस्तरीय निर्णयबाट यस्तो सहज व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै मिति २०८३ असोज २६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार निर्देशिका संशोधन गरिएको जानकारी गराएको छ ।
संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक सवारी साधन दर्ताका क्रममा पहिलो पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको प्राविधिक चेकजाँचलाई नै मान्यता दिइनेछ । यससँगै सवारी साधनलाई पुनः कार्यालयमै लगेर दोहोरो चेकजाँच गराउनुपर्ने झन्झट हटेको छ ।
त्यसैगरी, सवारी साधन बिक्री गर्ने डिलरहरूले खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित हुन नसकेको अवस्थामा पनि प्रक्रिया अघि बढाउन सक्नेछन् ।
यसका लागि खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो तथा सक्कल परिचयपत्रसहित वारेसनामा प्राप्त व्यक्ति यातायात कार्यालयमा उपस्थित भएमा दर्ता तथा नामसारीको काम सम्पन्न हुनेछ ।
नयाँ व्यवस्थाले सवारी साधनको बीमा तथा नवीकरण प्रक्रियालाई पनि थप सरल बनाएको छ । अब सवारीको बीमा गर्न वा नवीकरण गर्दा सवारी धनी यातायात व्यवस्था कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने छैन ।
यस्तै, निजी तथा सार्वजनिक सवारी साधनहरूको नामसारी गर्दा विभागद्वारा भीआरएस प्रणालीमा प्राविधिक व्यवस्था गरिएको सूचना जारी भएपछि बिक्रेता, वितरक वा कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरी यातायात कार्यालयसँग पहुँच माग गर्नुपर्नेछ ।
माग भएबमोजिम यातायात व्यवस्था कार्यालयले एकद्वार प्रणालीमार्फत बायोमेट्रिक विवरण लिन मिल्ने गरी सम्बन्धित कम्पनी वा बिक्रेतालाई प्राविधिक पहुँच उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका निर्देशक मणि राम भुसालले जनाएका छन् ।