मंगलवार, आश्विन २७ गते २०८३

पूजाका लागि बनाइने चिल्लो पदार्थलाई ‘घिउ’का रूपमा बिक्री गर्न प्रतिबन्ध

मंगलवार , आश्विन २७, २०८३

काठमाडौं । पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार पारिने चिल्लो पदार्थलाई घिउको रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै धार्मिक प्रयोजनका लागि तयार गरिने यस्ता चिल्लो पदार्थलाई खानयोग्य घिउ वा ‘पूजा घिउ’का नाममा बजारमा पठाउन रोक लगाएको हो।


बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा केही उत्पादक तथा व्यवसायीले वनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत तेल, प्याराफिन, खनिज तेल र विभिन्न रासायनिक पदार्थ मिसाएर पूजा सामग्री उत्पादन गरिरहेको विभागले जनाएको छ।

यस्ता वस्तुको स्वरूप, रङ, गन्ध र प्याकेजिङ सक्कली खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ता झुक्किएर खानपानमा समेत प्रयोग गर्ने जोखिम बढेपछि विभागबाट खाद्य उद्योगको अनुमतिपत्र लिएका उत्पादकहरूलाई यस्ता चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन दिइएको छ।

्सरकारले खाद्य प्रयोजनका घिउ, वनस्पति घिउ तथा बेकरी सर्टेनिङको छुट्टै गुणस्तर मापदण्ड तोकेकाले पूजा वा हवनका लागि बनाइएका चिल्लो पदार्थलाई कुनै पनि प्रकारको खाद्य घिउ, बेकरी सर्टेनिङ वा ‘पूजा घिउ’को रूपमा समेत बिक्री गर्न पाइने छैन।


यदि कसैले पूजा तथा बत्ती बाल्ने प्रयोजनका लागि मात्रै यस्तो चिल्लो पदार्थ उत्पादन वा बिक्री वितरण गरेमा त्यसको लेबुलको अगाडिको भागमा प्रस्ट देखिने गरी ठूलो फन्टमा ‘खानको लागि होइन’ लेख्नुपर्नेछ र साथमा कालो क्रस चिह्न अनिवार्य रूपमा राख्नुपर्ने विभागका महानिर्देशक संजिवकुमार कर्णले जानकारी दिए ।

उनका अनुसार त्यस्ता सामग्रीको लेबुलमा घिउ, बेकरी सर्टेनिङ वा वनस्पति घिउ जस्ता कुनै पनि शब्द उल्लेख गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

यसैगरी खानयोग्य घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङ उत्पादन तथा बिक्री गर्दा पनि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम लेबुल विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार