काठमाडौं । फागुन १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’ को भजन गीत ‘माता विंध्यवासिनी’ सार्वजनिक भएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, दीपिका प्रसाईं, करिश्मा श्रेष्ठ, सुशील सिटौला लगायतलाई फिचरिङ गरिएको छ ।
विंध्यवासिनी मन्दिरमै छायाङ्कन गरिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास निर्माण टिमको रहेको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, पल शाह, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको साथमा नव-नायक समीम खान, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र सुशील सिटौलाको मुख्य भूमिका रहेको छ । राजुविक्रम थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
फिल्ममा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको छ । फिल्मको ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् । यसैले पनि फिल्मले फागुन १४ गते सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ । फिल्ममा राजु पराजुली र सुमित वलीको सह-निर्माण, प्रविन भट्टराई र करणसिंह कार्यकारी निर्माताको रुपमा रहेका छन् ।