आइतवार, श्रावण २४ गते २०८३

सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ १४ गतेनै रिलिज हुने

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । सेन्सर पास भएसँगै टेलिश्रृंखला ‘सक्किगोनि टीम’ ले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ फागुन १४ गते देखि प्रदर्शनमा आउने भएको छ । यसअघि अदालतमा पात्रको विषयलाई लिएर परेको मुद्दाका कारण प्रदर्शनबारे अन्योलत सिर्जना हुँदै आएको थियो ।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ को दफा ८ बमोजिम नेपालभर प्रदर्शनका लागि स्वीकृति प्रदान गरिएको समितिले जारी गरेको प्रमाणपत्रमा उल्लेख गरिएको छ । यसअघि संचार तथा सूचना प्रविधि मन्त्रालयमा  कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित बैठकमा चलचित्रको जाँच गरिएको थियो । सो क्रममा फिल्मको विषयवस्तु सामान्य नै भएको पाइएसँगै पास गरिएको हो । पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए ।

आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो । यस्तै सोही प्रचारका लागि सक्किगोनिका लागि खिचिएको एपिसोड समेत प्रदर्शन भएको थिएन । कुमार कट्टेलले निर्देशन गरेका फिल्म  ‘लाज शरणम्’मा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला , प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतको अभिनय देख्न सकिन्छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले छायाङ्कन गरेका हुन् । यससँगै अब बुधबार देखिनै चलचित्र प्रदर्शनको बाटो खुला भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार