काठमाडौं । प्रकाश सपुतको डेब्यु निर्देशित फिल्म ‘वसन्त’ को गीत ‘बिना स्वादैको’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक देवेन्द्र बब्लु (दि फिरन्ते) को स्वर रहेको छ ।
गीतमा देवेन्द्रसहित प्रकाश स्वयमको शब्द र संगीत रहेको छ । गीतमा योगेश काजी शाहको संयोजन रहेको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ । गीतको भिडिओमा फिल्मका कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी, देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी रहेका छन् ।
आगामी चैत्र २२ गते रिलिज हुने फिल्ममा प्रकाश र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेका छन् । फिल्ममा उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्ममा देख्न सकिन्छ ।
https://youtu.be/lZPtcOXZ5BI?si=dI8Ca6g3ldkr_HGa