काठमाडौं । फिल्म ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान रचेको छ ।
नेपालमा फेब्रुअरी २६, २०२५ मा रिलिज भएको यो फिल्म फेब्रुअरी २७ मा मध्यपूर्वका चार देशका करिब ४० सिनेमाघरहरूमा प्रदर्शन भएको थियो । फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ । ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान बनाएको छ ।
अमेरिका र क्यानडाका ७७ हलहरूमा प्रर्दशन भएको छ । उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ । अष्ट्रेलियामा पनि यो फिल्म ३० स्थानमा रिलिज भएको थियो । विश्वभर एकै दिन सबैभन्दा धेरै हलमा रिलिज हुने सिनेमाको रेकर्ड बनाएको छ ।
‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवर्ल्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र ‘लाज शरणम्’ नेपालमा बुधबारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् । यस फिल्ममा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा रहेका छन् ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता रहेका छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता रहेका छन् ।