काठमाडौं । महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर बेपत्ता भएका जयसिंह धामीको खोजीका लागी विशेष टोली खटाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेका बेला प्रहरी प्रधान कार्यालयले खोजविनका लागि विशेष प्राविधिक टोली समेत खटाएको छ ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयको आग्रहमा धामीको खोजीमा सहयोग गर्न दुुई जना प्राविधिकसहितको विशेष टोली खटाएको हो । उक्त टोलीले अहिले महाकाली नदी क्षेत्रमा ड्रोनको प्रयोग गरेर धामीको खोजी गरिरहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले जानकारी दिए ।
यसैविच घटनाको छानबिन गर्न खटिएको टोली फर्किएको छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले छानबिनका क्रममा गर्नूपर्ने काम सकेर गृहको टोली फर्किएको जानकारी दिए ।
झण्डै ८ दिनसम्म दार्चुलामै बसेको टोलीले नदीमा बेपत्ता भएका व्याँस गाउँपालिका-२ का जयसिंह धामीको परिवारदेखि अन्य सरोकारावाला पक्षबीच भेटघाट गरेर छलफल गरेको थियो । १५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुुकालिदिएपछि खसेर व्याँस गाउँपालिका-२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।
उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । यता महाकाली नदीमा बेपत्ता धामीको न्यायका लागि भन्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा हस्ताक्षर अभियान सुरु गरिएको छ । मौलिक जरोकिलो पार्टीले शनिबारदेखि हस्ताक्षर संकलन अभियान शुरु गरेको जनाएको छ । करीब ९ हजार हस्ताक्षर संकलन गरेर सरकारलाई बुुझाउने योजना रहेको उनिहरुको रहेको छ ।