काठमाडौं । भारले अफगानको मजार-ए-शरीफस्थित वाणिज्य दूतावासका आफ्ना कर्मचारीलाई भारत फिर्ता बोलाएको छ । अंग्रेजी अखबार द हिन्दुका अनुसार अफगानिस्तान मामिलामा अन्य दक्षिण एसियाली छिमेकी देशहरूमा झैँ प्रभाव विस्तार गर्न खोजेको भारतप्रति तालिबानले अहिलेसम्म औपचारिक धारणा व्यक्त गरेको छैन ।
अर्को छिमेकी चीन र रुसमा भने तालिबानी प्रतिनिधिमण्डल नै पुगेर भेटवार्ता गरिसकेको छ ।
विद्रोही संगठन तालिबानले मतलब नगरेपछि अफगानिस्तानबाट भारत बाहिरिन लागेको जनाइएको छ । एक महिना पहिले कन्दहारको वाणिज्य दूतावासबाट पनि भारतले आफ्ना कर्मचारी हटाएको थियो ।
वार्ता गर्न या अफगान मामिलामा महत्व दिन तालिबानलाई फकाइरहेको भारतले अहिलेसम्म ग्रीन सिग्नल पाएको छैन । तालिबानले कुनै वास्ता नगरेपछि भारतले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई आपतकालीन उद्दार गर्न विमान पठाउने फैसला गरेको थियो ।
काबुलस्थित भारतीय दूतावासले अफगानिस्तानमा रहेका सबै भारतीयहरूलाई संघर्ष बढिरहेकाले व्यवसायिक उडान बन्द हुनुअघि नै त्यहाँबाट निस्कने व्यवस्था गर्न भनेको थियो । तालिबानी लडाकूहरू यतिखेर मजार-ए-शरीफको बाहिरी इलाकासम्म आइपुगेका छन् ।
यसअघि तालिबानले ताजिकिस्तानसँग सीमा जोडिएको कुन्दुज शहरमाथि कब्जा गरिसकेको छ । द हिन्दुका अनुसार भारतीय अधिकारीहरू र नागरिकलाई लिन एक सैन्य विमान अफगानिस्तान जानेछ ।