काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न नसकिने बताएका छन् । रास्वपाले एक महिना अघि नै लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
त्यसको सुनुवाइ नभएपछि आज थप पहलको लागि सभामुखसँग भेट गर्न सिंहदरबार पुगेका थिए । आफ्नो सांसद पद फुकुवाको मागसहित सभामुख घिमिरेलाई भेट्न पुगेका लामिछानेसहित रास्वपाको टोलीलाई उनले फुकुवा गर्ने अधिकार आफूसँग नभएको बताएका छन् । ‘सांसद पद सभामुखको हैसियतले मैले निलम्बन गरेको होइन । मैले सूचनामात्रै जारी गरेको हो । कानुनले सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि निलम्बन हुने व्यवस्था गरेको छ । मैले निलम्बन फुकुवा गर्न सक्दिनँ ।’
यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए । मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् । लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।