सोमवार, आश्विन १९ गते २०८३

राष्ट्रपति रामचन्द्र पौडेल भन्छन्– अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन मिल्दैन

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५ औँ वार्षिकोत्सव (हिरक महोत्सव) को उद्‌घाटन गर्दै राष्ट्रपतिले संविधानले दिएको अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार बिर्सिए जनतालाई स्वीकार्य नहुने बताएका छन् । राष्ट्रपति पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोडफोड, आगजनी र लुटपाट सर्वदा निषेधित रहेको स्पष्ट पारेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

उनले सञ्चारजगतको यो महत्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर नै संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको बताएका छन् । राष्ट्रपति पौडेलले गत शुक्रबार राजावादीले काठमाडौंमा गरेको आन्दोलनका क्रममा भएको घटनामा जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै होनहार पत्रकार र नागरिकको मृत्यु हुनु दुःखद भएको जिकिर गरेका छन् । उनले आफू र आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता भएको बताउँदै  समाचार र कैयन शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायतका कार्यक्रम आफ्नो स्मृतिमा आजपर्यन्त मीठो सम्झना बनेर झङ्कृत भइरहेको जनाएका छन् ।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार