काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले आफू त्यहाँबाट भागेको बताएका छन् ।
बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा घटनाको निष्पक्ष छानबिनको माग गर्दै सांसद तामाङले कार्यक्रमको मञ्चमा दुर्गा प्रसाईंको फोटो देखेपछि आफू भागेको बताएका छन् । ‘हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनज्यू, ज्ञानेद्र शाहीसहित हाम्रो ग्रुप नै थियो । हामी प्रदर्शनमा जाने कुरा भइरहेको थियो । तर, मञ्चतिर हेर्दा त राजाको फोटो, अनि त्यही साइजको दुर्गा प्रसाईंको फोटो राखेको देखियो, । ओहो, खत्तम रहेछ भन्ने लाग्यो । हामी गएनौँ । आन्दोलनलाई समर्थन गर्ने भनेरमात्र हुँदो रहेनछ ।’
उनले भने, ‘हाम्रोबाट अध्यक्ष जानुभएन, धेरैजना जानुभएन । मैले पनि यसो हेरेको दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ नि । फोटो देखेर डर लागिहाल्यो नि ।’ उनले यस्ता घटनाको तुरुन्तै छानबिनको पनि माग गरेका छन् । उनले प्रदर्शन कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले अश्रुग्यास प्रहार गरेको दाबी गरेका छन् । ‘मान्छेहरू आउँदै थिए, कार्यक्रम सुरु हुँदै थियो । त्यहीबेला मञ्चमा टियरग्यास हानियो ।’ आफ्ना पार्टीका नेतालाई प्रहरी हिरासतमा राखिएकोमा पनि उनले आपत्ति जनाएका छन् ।
सांसद तामाङले भने, ‘हाम्रो पार्टीको वरिष्ठ उपाध्यक्ष थुनामा हुनुहुन्छ, महामन्त्री थुनामा हुनुहुन्छ, । उहाँहरूलाई नेपालमा भएभरमा कानुनमा अनुसन्धान गरिँदैछ भनिएको छ । पहिले त उहाँहरू दोषी हो कि होइन पत्ता लगाउनुपर्यो नि । भोलि अरूलाई पनि यस्तै पर्न सक्छ । त्यसैले हामी गृहमन्त्रीलाई डेलिगेसन दिन जाँदै छौँ । यस घटनामा न्यायिक जाँच हुनुपर्छ ।’