आइतवार, श्रावण २४ गते २०८३

दाजु बहिनीमाथि गोली प्रहारबारे प्रहरी भन्छ : झुक्किएर लाग्यो

बुधवार , चैत्र १९, २०८१

काठमाडौं। कोटेश्वरमा राजावादीले गरेको प्रदर्शनका क्रममा घर फर्किँदै गरेका विद्यार्थी रेविका खत्री र दिनेश खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले जानकारी दिएको छ । 

नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यल उनीहरुमाथि गोली लागेको बताएका हुन् । 

उनले भने, ‘ भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको हो। उहाँहरूलाई झुक्किएर गोली लागेको हुनुपर्छ ।’

प्रहरी प्रवक्ता आचार्यले लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएका कारण स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हुन सक्‍ने स्पष्टीकरण दिए ।

चैत १५ गते भाटभटेनीनजिकैको गल्लीमा आफ्नो काममा निस्केकी २२ वर्षीया रेविका खत्री र उनलाई लिन आएका काकाका छोरा दिनेश गोली लागेर ढले ।

उदयपुर चौदण्डीगढी नगरपालिका– ६ का यी दाजुबहिनीलाई प्रहरीको गोली लागेको थियो । राजावादी प्रदर्शनकारीको लुटपाट रोक्न त्यो दिन प्रहरीले गोली चलाएको थियो । उनीहरू न आन्दोलनमा आएका थिए, न त रमिता हेर्न नै । आफ्नो काममा निस्केकी रेविकालाई अनायासै गोली लागेको थियो । बहिनीलाई लिन निस्केका दिनेशलाई समेत गोली लागेको थियो । 

आफू बस्ने घरनजिकै सडक गल्लीमा निस्केकी रेविकाको देव्रे तिघ्रा छेडेर गोली निस्कियो भने दिनेशको पनि खुट्टामै गोली लागेको छ । रेविकाको तिघ्रामा गोलीले भ्वाङ पारिदिएको छ । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । 

गोली लागेलगत्तै ढलेका उनीहरूलाई स्थानीयवासीको सहयोगमा बानेश्वरको सिभिल अस्पताल लगियो । बुधबार दिनेश डिस्चार्ज भएका छन् भने रेविकाको उपचार जारी छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार