सोमवार, आश्विन १२ गते २०८३

२४ घण्टामा १६४ मिलिमिटरसम्म वर्षा, कहिलेसम्म पर्छ पानी?

बिहिवार , आश्विन ८, २०८३

काठमाडौं । आगामी शनिबारसम्म विभिन्न स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको मौसमविद्ले बताएका छन् । बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन पनि उनीहरुको आग्रह छ ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी सूचनालाई भने नियमित रूपमा अद्यावधिक गर्नुपर्छ भने ।

उनका  अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत भई भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसा आसपास जमिनमा प्रवेश गरेको छ । उक्त प्रणालीका कारण जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले वर्षाको गतिविधि बढेको उनले बताए ।

हाल कर्णाली प्रदेशदेखि पूर्वी भू–भागसम्म सामान्यतया बादल लागेको र गण्डकीको पूर्वी भू–भाग, लुम्बिनी, बागमती, कोशी तथा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको तथा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास भारीदेखि धेरै भारी वर्षा भएको छ । ती क्षेत्रमा अधिकतम करिब १६४ मिलिमिटरसम्म वर्षा भएको उनको भनाइ छ ।

मौसमविद् ढकालका अनुसार आज लुम्बिनी प्रदेशदेखि पूर्वी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम भूभागमा वर्षा हुने देखिएको छ ।

शुक्रबार कर्णाली प्रदेशदेखि पूर्वी भू–भागसम्म वर्षा केन्द्रित हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ । मौसम पूर्वानुमानमा सुन्तला रङले देखाइएका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने उनले बताए ।

मौसमविद् ढकालले शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने देखिएको  र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिए । उजका अनुसार ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको र गण्डकीदेखि पश्चिमका विभिन्न भू–भागमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार