थाइल्यान्डका महा बजिरालोङकर्नसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गरेका छन् ।
थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंकक रहनुभएका प्रधानमन्त्री ओलीले राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
राजदम्पत्तीले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई राजदरबारमा स्वागत गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीसँग समकक्षी पे थोङ् थान् शिनावात्राको सरकारी भवनमा दुईपक्षीय भेटवार्ता भई दुई देशका बीचमा आठ सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । थाइल्यान्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही चैत १९ गते बैंकक आएका हुन् ।