सोमवार, आश्विन १९ गते २०८३

चाबी लिएर मेयर सम्पर्कविहीन, ताला फोडेर प्रशासकीय प्रमुखले गरे हाजिर

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारीहरूले उनको कार्यकक्षको ताला फोडेर प्रवेश गराएका छन् ।

उपप्रमुख सुनीता डंगोल, वडाध्यक्ष तथा कार्यपालिका सदसस्यसहितको अनौपचारिक बैठकपछि उनीहरूले ताला फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका हुन् । गुरागाईँ ३ महिना १४ दिनपछि आज कार्यालय फर्किएका हुन् । अनौपचारिक बैठकमा नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले तपाईँले लिखित आदेशमा ताला लगाएको कि मौखिक आदेशमा भनेर प्रश्न गरेकी थिइन् ।

पाण्डेले मौखिक आदेशमा ताला लगाएको भनी जवाफ फर्काएका थिए । पाण्डेले त्यस्तो प्रतिक्रिया दिएपछि कर्मचारीहरू थप आक्रोशित बनेका थिए । त्यसपछि कर्मचारीहरूले गुरागाईँलाई लिएर कार्यकक्षतर्फ लगेका हुन् । कार्यकक्ष प्रवेश गरेपछि उनले हाजिर गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि नै पत्र पठाएको थियो । तर, मेयर शाहले भने अर्को प्रशासकीय अधिकृत पठाइदिन ताकिता गरिरहेका थिए । कार्यालय प्रवेश गर्न नपाएपछि गुरागाईँले काम गर्ने वातावरण बनाइदिन मन्त्रालयमा निवेदन दिँदै गुहार मागेका थिए ।

मेयर शाहले गुरागाईँलाई अवरोध गर्न नगर प्रहरी परिचालन गरेका थिए । कर्मचारीको सहयोगमा उनी नगर प्रहरीको अवरोध छिचोल्दै कार्यालय प्रवेश गरेका हुन् । कार्यालय प्रवेश गरे पनि उनी कार्यकक्षमा अर्को तगारो देखियो । उनको कार्यकक्षमा चाबी लगाइएको थियो । चाबी खोज्दा नभेटिएपछि कर्मचारीहरूले प्रहरीसँग सोधेका थिए । प्रहरीले ताल्चा मेयरकै निर्देशनमा लगाइएको र चाबी पनि मेयरसँगै रहेको जवाफ दिएका थिए ।

मेयर शाहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर नियमित तलबसमेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । गुरागाईँ कार्यालय पुग्दा कर्मचारीहरूको ठूलो समूहले बालेनविरुद्ध नारावाजी गरेका थिए । कर्मचारीहरूकै सहयोगमा गुरागाईँ नगर प्रहरीको अवरोध छिचोल्दै अघि बढेका थिए । यस क्रममा निकैबेर कमलादीस्थित महानगरपालिकामा तनाव भएको थियो ।

मेयर शाहले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारवाही गर्न छानबिन समिति बनाएका थिए । शाहले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईँले गत पुस ८ गतेदोखि हाजिर गर्न पाएका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार