काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका छन् । आज गुरागाईंले कर्मचारी र नगर प्रहरीबिचको तनाव झेल्दै कार्यकक्षमा पुगेर हाजिर गरेका हुन् ।
यसैबिच, मेयर बालेन शाहले गुरागराईंलाई रोक्न खोजेका थिए । महानगर प्रहरीहरूलाई बाक्लै रुपमा खटाइएको थियो । प्रहरीहरूलाई धकेल्दै गुरागाईं कार्यालय प्रवेश गरेका थिए । नगर प्रहरीको अवरोधबिच गुरागाईँलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका थिए ।
मेयर शाहको सचिवालयले भने यो कुराले सरकार आफै भ्रष्टाचारी हो भन्ने स्पष्ट पारेको प्रतिक्रिया दिएको छ । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले नागरिकसँग कुरा गर्दै सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको बताएका छन् ।
उनले भने, ‘सरकारले भ्रष्टाचारमा संलग्न भएको व्यक्तिको संरक्षण गरेर आफैँ भ्रष्टाचारी हो भनेर स्पष्ट पारेको छ, । उहाँले आफूसँग नभएको अधिकार प्रयोग गरिसक्नुभएको छ । अब अनुसन्धान गर्ने निकायले उहाँलाई दोषी देखाएमा सबै जना जेल जान तयार भएर बसे हुन्छ ।’
शाहले गुरागाईँमाथि छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्र पठाइसकेको बताएका छन् । उनले आयोगले छिटो भन्दा छिटो अनुसन्धान गर्दिन माग गरेका छन् ।