काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिट निवेदनको बहस सकिएको छ । आजै अन्तरिम आदेशको निर्क्योल हुनेछ ।
कुलमान र हितेन्द्रको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि लगातार बहस भएको थियो । कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका हुन् ।
सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानको पदावधि ४ महिना बाँकी थियो । उता हितेन्द्रले कुलमानको नियुक्ति नै गलत भएको जिकिर गर्दै ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेका हुन् ।
आज केही सरकारी वकिल, केही शाक्यपक्षका कानुन व्यवसायी र उनीहरूको बहस सकिएपछि कुलमान पक्षका कानुन व्यवसायीले जवाफ बहस गरेका हुन् ।