काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आन्दोलनमै रहेको बताएका छन् ।
आज सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका बखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका छन् । प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको धारण रहेको छ । उनले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएकोसमेत बताएका छन् ।
उनले भने, ‘अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ यो आन्दोलन आएको छ । संविधानभित्रका कतिपय कुराहरूमा त हाम्रो मतभेद हुनसक्छ नि । त्यो मतभेद त जनतामा त्यसकिसिमको प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो, ।’
केसीले भने, ‘त्यसको बहाना प्रणाली नै सिध्याउने र शत्रुतापूर्ण आन्दोलनसित सरकार चनाखो हुनुपर्छ । अब म आफैँ पनि आन्दोलनमा छु । मैले सरकारलाई भनिराखेको छु प्रदेश हुनुहुन्न । संविधान बनाउँदाका बखतदेखि नै जनमोर्चाले प्रदेश भनेको होइन ।’