सोमवार, आश्विन २६ गते २०८३

तीनकुने घटनामा संलग्न रहेको आरोपमा कलाकार एनी कुँवर पक्राउ

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी भन्ने (अनिता) कुँवरलाई पक्राउ गरेको छ।

काठमाडौंको तीनकुनेमा चैत्र १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । पत्रकार सुरेश रजक जलेको घरमा आगो लागी भइरहँदा कुँवर त्यही घरबाट बाहिरिँदै गरेको भिडिओ सार्वजनिक भएको थियो । सोही भिडिओसहितका प्रमाणका आधारमा काभ्रेको नमोवुद्ध १५ की कुँवरलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । त्यसदिन दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनमा कुँवरको समेत संलग्नता रहेको प्रहरीको भनाई छ ।

भिडिओमा तलबाट आगो लागिरहँदा उनी माथि नै देखिन्छन् । त्यसको केहीबेरमा उनी बाहिरिए पनि पछि हेर्दा उक्त कोठामा ताला लागेको थियो । उनीसँगै बाहिरिएका पुरुष भने आफ्नो अनुहार कपडाले ढाकेर बाहिरिएका हुन्छन् । त्यहाँबाट बाहिरिएपछि उनले आगो लागेको भन्दै फेसबुकमा लाइभ गर्छिन् । तर उनीसँगै आन्दोलन गरिरहेकाहरुले नै आगो निभाउन गएको दमकल तोडफोड गर्छन् र आगो निभाउन दिँदैनन् । राजावादीहरुले यसरी अवरोध गरेपछि प्रहरी पनि त्यहाँ पुगेर तत्काल आगो निभाउन असफल भएका थिए । सोही आगोमा जलेर पत्रकार रजकको ज्यान गएको थियो ।

यही घटनामा कुँवरको संलग्नता रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनलाई पनि थप अनुसन्धानका लागि अनुसन्धान कार्यालयले काठमाडौं जिल्ला प्रहरी परिसरमा पठाएको छ । राप्रपा र दुर्गा प्रसाईंले आयोजजना गरेको प्रदर्शन हिंसात्मक बन्दा त्यहाँ दुई जनाको ज्यान गएको हो । प्रदर्शनकारीले व्यक्तिका घरमा तोडफोड तथा आगजनी गरेका थिए । पछि प्रहरीसहित सरकारी गाडी, व्यक्तिका गााडी आगजनी गरेका थिए ।

विभिन्न ठाउँका सीसीटीभी तोडफोड गर्नुका साथै उनीहरुले भाटभटेनी कम्प्लेक्समा पनि लुटपाट गरेका थिए । यी घटनामा प्रहरीले ७० बढीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । राप्रपाका वरिष्ठ उपाध्यष रविन्द्र मिश्र र महामन्त्री समेत रहेका सांसद धवल शमशेर राणा पनि हिरासतमा रहेका छन् ।

यो प्रदर्शनका कमाण्डर तोकिएका दुर्गा प्रसाईंसहित अझै केही व्यक्ति फरार रहेका छन् । प्रहरीले त्यसदिनका घटनास्थलका भिडिओ हेरेर पहिचान गर्दै पक्राउ गरिरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार