काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने बताएकी छिन् । आगामी वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने बताएकी हुन् ।
उनले भनिन्, ‘यो आज सुरुवात मात्र हो । अब ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं । यहीँ सुत्छौं, खाना पनि यहीँ पकाउँछौं । जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था नभएसम्म यहीँ बस्छौं ।’ उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न समेत आग्रह गरेकी छिन् ।
पोखरेलले भनिन्, ‘आजै तिमिहरू भागिहाल नत्र घरबाट थुतेर राष्ट्रवादी साथिहरूले कुट्नेछन्, कि देश छाडेर भाग, कि आत्मसमर्पण गर । नत्र खैरियत छैन ।’ उनले आगामी ७ गतेबाट सडक तताउन बल्खुमा उपस्थित भिडलाई आग्रह गरेकी छिन् ।
राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसहितका विभिन्न माग राखेर मंगलबार बल्खुमा प्रदर्शन गरेको छ ।