काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।
विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा। वाग्ले र अध्यक्ष बांगाबीच अमेरिकाको वासिङ्टन डी सी मा भेटवार्ता भएको हो ।
भेटमा अर्थमन्त्री डा। वाग्लेले हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार र बिमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरेका छन् ।
उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बांगाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
अध्यक्ष बांगाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएको अर्थमन्त्री डा। वाग्लेको सचिवालयले जनाएको छ ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो ।