सोमवार, आश्विन १९ गते २०८३

केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् : प्रधानमन्त्री ओली

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको दाबी गरेका छन् ।

एमाले रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरूले एमालेलाई विभाजनको कोशिश गरेको तर उनीहरू असफल भएको जिकिर गरेका छन् । उनले भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छौं ।’

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट कुनै विचलित नभई समृद्धि र सुसाशनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरेका छन् ।

अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको उनको भनाई छ । देशका ठुला दलहरु नेपाली कांग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै उनले भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरु ल्याएको बताएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सङ्घका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलगायत सहभागी थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार