काठमाडौं ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उदघाटनसत्रमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “सरकार अहिले ढल्छ, दसैंमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने हल्ला बाहिर छ, त्यो सम्भव छैन । सरकार बलियो छ, सरकार ढल्छ भन्नेहरु नै ढल्नेछन् ।” देश बनाउने अभियानमा सबै दललाई साथै लिएर अघि बढ्ने उहाँले बताउनुभयो ।
सरकारको शैली र नियत सही रहेको बताउँदै उहाँले परिवर्तनको मुद्दामा रास्वपाले नेतृत्व गरिरहेको बताउनुभयो । दलीय सहकार्यका लागि रास्वपा जहिले तयार रहेको बताउँदै उहाँले देश परिवर्तनको मुद्दामा सबैलाई साथ हिँड्न आव्हान गर्नुभयो ।
रास्वपा नेतृत्वको सरकारले मुलुकको लोकतन्त्र कमजोर हुन नदिने, मुलुकको अर्थतन्त्रलाई कमजोर बन्न नदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । जनताले भोट हालेर ठुलो पार्टी बनेको रास्वपाले परिवर्तनको मुद्दामा सदैव गम्भीर रहने बताउनुभयो ।
उहाँले थप्नुभयो, “जनताको मन जित्नेगरी काम गर्दैछौं । लोकतन्त्रको हुर्मत लिने काम गर्नेछैनौं । तपाईहरुले कसैले पनि त्यो काम नगर्नुहोला ।” सो अवसरमा सभापति लामिछानेले आफ्नो दललाई आमन्त्रण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।