काठमाडौं । भारतको जम्मू काश्मीरको पाहलगमस्थित बैसारान मेडोमा मंगलबार भएको आतङ्ककारी हमलामा ज्यान गुमाउने नेपालीको पहिचान भएको छ । आतंकवादी हमलामा मारिएकामध्ये एक नेपाली भएको खुलेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सामाजिक सञ्जाल एक्समार्फत मृतक बुटवल उपमहानगरपालिका-११, कालिकानगर, रुपन्देहीका सुदीप न्यौपाने भएको जानकारी गराएकी छिन् ।
राणाका अनुसार हमलामा सुदिपकी आमा घाइते भएकी छन् । आमा-छोरा घुम्न पाहलगम पुगेका थिए । उनले यो क्रूर र अमानवीय हमलाको जति निन्दा गरे पनि कम हुने बताएकी छन् । परराष्ट्र मन्त्रालय घटनाबारे थप जानकारी लिन भारत सरकारसँग सम्पर्कमा रहेको जानकारी दिएकी छिन् ।
मंगलबार भएको सो घटनामा एक नेपालीसहित २८ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यका अनुसार २६ भारतीय र २ विदेशीको ज्यान गएको छ । यो हमलाको जिम्मा ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ । सो हमलामा दर्जन भन्दा धेरै घाइते भएका छन् । केहीको अवस्था गम्भीर भएका कारण मृतक संख्या बढ्न सक्ने देखिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाको निन्दा गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । जम्मू कश्मीरमा स्कूल-कलेज बन्द गरिएको छ । भारतको राजधानी दिल्ली, मुम्बईलगायत सहरमा सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
चार विशेष उडानमार्फत पर्यटकलाई श्रीनगरबाट दिल्ली र मुम्बई फर्काइँदै छ ।