काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख १४ गते) मनाइँदै छ ।
मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आज छोराछोरीले आफ्ना आमालाई राम्रा–राम्रा लुगा तथा मिठा–मिठा खानेकुरा दिएर सम्मान गर्छन् र आशीर्वाद लिन्छन् । आमा बितेकाहरूले भने आमाका नाममा तर्पण र पिण्ड दान तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने परम्परा रहेको छ ।
दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवंग आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन् ।
सो अवसरमा आज बिहानैदेखि काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लागेको छ । मातातीर्थ कुण्ड परिसरमा दिवंगत आमाको स्मृतिमा श्रद्धा प्रकट गर्नेहरूको घुइँचो लागिरहेको छ ।