काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि बिहानसम्म मौसम महाशाखाले नेपालमा अरब सागरबाट पनि जलवाष्पयुक्त वायु आइरहेको उल्लेख गरेको थियो। तर मंगलबार साँझ जारी बुलेटिनमा उक्त हावाको प्रभाव उल्लेख छैन। यसको अर्थ अरब सागरबाट वायु आउन बन्द भएको छ।
यद्यपि पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले यतिबेला (मंगलबार साँझ) पहाडी भेगमा मौसम आंशिक बदलीदेखि साधारणतया बदली भएको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली भएको छ।
महाशाखाका अनुसार आज राति मधेस प्रदेश र लुम्बिनी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना पनि छ।