काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकसँग रिस उठेकै भरमा विपक्षी दलहरूले राजीनामा माग गर्दै संसद् अवरोध गरेको बताएका छन् ।
सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्ने क्रममा अख्तियारले एउटा कर्मचारीलाई बोलाएर सोधेकै भरमा विपक्षीले राजीनामा मागेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘अहिले केही नपाएर, गृहमन्त्रीको राजीनामा रे । तथ्य प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्यो । केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेका भरमा, के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ, गृहमन्त्रीले राजीनामा दिनुपर्यो । त्यस्तो हुँदैन ।’
उनले सधैं संसद् अवरोध नहुने पनि बताएका छन् । उनले भनेका छन्, ‘जहिल्यै पनि संसद् अवरोध ? दुई जना उठ्यो करायो अनि संसद् अवरोध ? उहाँहरूको ज्यादती पनि धेरै भयो, ।’ दलको बैठकमा प्रधानमन्त्री ओलीले अहिलेका विपक्षी दलहरूको चरित्र चित्रण पनि गरेका छन् । उनले कसैले माइतीघर मण्डलामा पुगेर सापटी लिएको पैसा नपाएर आन्दोलन गर्यो भने पनि विपक्षीले समर्थन गर्ने गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ पुग्छन् । जे सुकै कारणले होस्, साइँलाले पैसा सापटी लिएको तिरेन मलाई भनेर कोही माइतीघर मण्डलामा आयो भने विपक्षी दलहरू सबै कुदेर मण्डलामा पुग्ने । हामी साथमा छौं, आन्दोलन नछाड्नुस्, सरकारले तपाईंलाई धोका दिनसक्छ, धोका नपाउनुस् । माग पूरा गराएर छाड्नुस्, तपाईंहरूले पैसा पाउनैपर्छ, सरकारले दिनुपर्छ भन्छन् ।’
उनले यसलाई विपक्षीको शैली भनेका छन् ।