काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पूर्वराजाबाट फेरि पनि धोका खाने पक्षमा नभएको बताएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै डा. महतले भने, ‘हामीले हिजो संवैधानिक राजा मानेको राजाले पटकपटक धोका दिएको हुनाले अब फेरि पनि धोका खाने पक्षमा कांग्रेस छैन ।’ उनले भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्ने ठाउँ नभएको बताएका छन् । उनले भने, ‘त्यो शंकाको फाइदा दिन सकिंदैन । भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्न सकिंदैन, त्यसैले अहिले राजतन्त्र फर्काउने बारेमा त कत्ति पनि कांग्रेस छैन ।’
उनले संविधानमा लेखिएको धर्म, संस्कृति लगायतको संरक्षणका विषयमा कसरी स्वामित्व लिन सकिन्छ भनेर भोलिका दिनमा पार्टीमा छलफल गर्ने बताएका छन् । उनले राजाको शासनकालमा तत्कालीन गृहमन्त्री कमल थापाले के गर्थे, के बोल्थे भन्ने सम्झन आवश्यक भएको बताएका छन् । उनले सोधेका छन्, ‘अलि सालअघि राजाको शासनकालमा के थियो भन्ने बारे गृहमन्त्रीको रूपमा त्यसको नेतृत्व गरिरहनुभएको थियो, उहाँका कस्ता कस्ता अभिव्यक्ति आएका थिए के के बोल्नुहुन्थ्यो, ।’
अहिले सूचना क्रान्ति भएकोले जे कुरा पनि सार्वजनिक हुने भए पनि राजाको शासनकालमा यस्तो सुविधा नभएको डा. महतले स्मरण गराएका छन् । उनले भने, ‘अहिले त सामाजिक सञ्जाल, मिडिया र सूचना क्रान्तिको बेलामा हामी छौं । त्यसैले हरेक गतिविधि कर्नर–कर्नर, घरघरबाट हामीले खिचिरहेका हुन्छौं, उहाँ (कमल थापा)को त्यो हाइलाइट भयो, हिजो त त्यो थाहा पनि पाइँदैन थियो कसलाई मार्यो, पिट्यो, थिच्यो, किच्यो, थुन्यो, बेपत्ता भयो पनि थाहा हुँदैनथ्यो । त्यसैले उहाँहरूले हामीलाई पाठ सिकाउन मिल्दैन ।’
उनले राजाको शासनमा यसरी प्रदर्शन गर्न नपाउने अवस्था रहेको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नरहेको बताएका छन् । डा. महतले राजावादीहरूले संविधानको विरुद्धमा कुरा गर्दा पनि सरकारले मर्यादित भएर काम गरिरहेको बताएका छन् ।