काठमाडौं । सदन खुलाउने विषयमा कुरा नमिलेपछि प्रतिपक्षी दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षबाट निस्किएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको दाबीसहित विपक्षी दलले उनको राजीनामा माग गरेका छन् । विपक्षी दलले लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति नभई सदन सञ्चालनको वातावरण नहुने बताएका छन् ।
विपक्षीले लगातार सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि विपक्षी दलका प्रमुख सचेतकहरू बाहिरिएका छन् । छलफलमा सहभागी विपक्षी दलका एक नेताका अनुसार आफूहरू यसअघिकै अडानमा कायम रहेको बताएका छन् ।
उनले भने, ‘सभामुखसँग छलफलमा कुरा मिलेन । छानबिन समिति नभई हुँदैन भनेर हामीले भन्यौँ, उहाँहरू (सत्तापक्ष) तयार हुनु भएन । उहाँहरू तयार नभएपछि हामीले पनि हुँदैन भनेर निस्कियौँ ।’