आइतवार, श्रावण २४ गते २०८३

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ भेटिए

सोमवार , आषाढ २, २०८२

काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटाएका प्रहरीले जनाएको छ । बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछन् । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

डा. श्रेष्ठले फेसबुकमा लेखेका थिए,

जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन् । उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका थिए । उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको आरोप लगाएका छन् । करिब २५ महिनाको सेवाकालमा १८ महिना अस्पताल प्रमुखका रूपमा काम गरेका उनले आफू अस्पताल सुधारको अभियानमा लागेको समयमा विभिन्न षड्यन्त्र र झुटा आरोप खेप्नुपरेको बताएका छन् ।

उनले कर्मचारी प्रशासनका अनियमितता सुधार गर्ने क्रममा केही कर्मचारी समूह र स्थानीय नेताहरूको आँखामा उनी नराम्रोसँग परेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘काम नचाहने, अस्पताललाई निजी सम्पत्ति ठान्ने केही कर्मचारी र स्थानीय नेताहरूले मलाई लगातार बदनाम गर्ने र दबाब दिने काम गरे, ।’ उनले अस्पताललाई व्यवस्थित बनाउने क्रममा करारका केही कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका थिए । यही कारणले केही व्यक्तिहरू उनको विरुद्ध सक्रिय भएका थिए ।

उनले रामेछापका स्थानीय नेता केदार कार्कीको दबाबमा अस्पताल सञ्चालन गर्नुपर्ने, व्यक्तिगत स्वार्थ पूरा गर्नुपर्ने, होटलका बिलहरू तिर्नुपर्ने जस्ता अनुचित मागहरू आएका थिए । ती मागहरू अस्वीकार गरेपछि उनलाई धम्कीसमेत दिएको आरोप छ । उनले बताएका छन्, ‘मेरो कार्यकक्षमै आएर ‘३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन’ भनेर धम्की दिएको थियो, ।’ उनको भनाइ अनुसार उनलाई कुनै सुनुवाइ नगरी छानबिन प्रक्रियाकै बीचमा हतारहतार सरुवा गरियो ।

उनले लेखेका छन्, ‘छानबिन समितिले अनुसन्धान गरिरहेको अवस्थामा नै मलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन भनियो, यो कत्तिको न्यायोचित हो ?’ उनले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूमाथि पनि अमानवीय व्यवहार गरेको गुनासो गरेका छन् ।  हेटौंडा पुगेपछि मन्त्रालयका एक प्रमुख प्रशासकीय अधिकृतले कुनै स्पष्टीकरण नदिई जबरजस्ती रामेछाप पठाएको उनले बताएका छन् । डा. श्रेष्ठले भने, ‘१६ वटा टाँका लागेको शरीर, २ वर्षकी छोरी र श्रीमती लिएर राति रामेछापबाट काठमाडौं आउन बाध्य भएँ, ।’  

मानसिक तनावले गर्दा उनले आत्महत्या गर्ने प्रयाससमेत गरेको खुलासा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आफ्नै मेहनतले अस्पताललाई सुधार्दा पुरस्कार पाउनु पर्नेमा उल्टै कारबाही खेप्नुपरेको छ, नेपालमै केही गर्छु भन्ने सपना देखेको थिएँ, अहिले पश्चाताप भइरहेको छ ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार