काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका अधिकृत कमल राज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरित गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारका अनुसन्धान गर्दा साढे २ करोडभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति भेटिएको अख्तियारले दाबी गरेको छ । अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले ०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।
गौतमको स्रोत नखुल्ने सम्पत्ति जफत गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही अघि बढाउन मंगलबार विशेष अदालतमा सोही बराबरको बिगोदाबी कायम गरी आरोपपत्र दायर गरिएको छ । साथै गौतमकी श्रीमती सरला नेपाललाई प्रतिवादी बनाइएको छ ।
गैर कानुनी तरिकाले आर्जन गरेको सम्पत्ति गौतमले श्रीमती सरलाको नाममा राखी सम्पत्ति विवरण पेश गर्दा लुकाएको पाइएको अख्तियारले जनाएको छ ।