काठमाडौं। सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याने चर्चा अहिले चलिरहेको छ। यदि सरकारले यहि बेलामा अध्यादेश ल्याएमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने खतरा छ।
यी दुवै पार्टी आन्तरिक किचलोका कारण विभाजनको संघारमा उभिएका छन्। यहि अवस्थामा यी पार्टी फुट्न पनि अफ्ठ्यारो देखिन्छ। तर सरकारले अध्यादेश ल्याइदिए विभाजनका लागि सहज हुने देखिन्छ।
एमालेमा अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्षसहित नेपाल नयाँ पार्टी निर्माणको तयारीमा छन्। नयाँ पार्टीका लागि आन्तरिक तयारी गरिरहेका माधव नेपालले आज नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्न लागेका छन्।
नेपालको आग्रहमा पार्टी विभाजनका लागि सजिलो हुने गरी अध्यादेश ल्याउन सरकारले तयारी गरिरहेको छ। प्रधानमन्त्री देउवालाई संसदमा विश्वासको मत दिएको एमालेको माधव नेपाल समूह पनि अध्यक्ष केपी ओलीको विरोध गरिरहेको छ। यो समूहले आफ्नै पार्टीको सरकार ढालेर देउवा सरकार ल्याउन डटेरै सामाना गरेको थियो।
नेपालले आज आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्दै छन्। एमाले पार्टी विभाजनको अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसो पौने चार बजे वरिष्ठ नेता नेपालले जुममार्फत जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्न लागेका हुन्। उनको सचिवालयले भने नेता नेपालले राजनीतिक रस्साकस्सी सन्दर्भमा नभई पूर्वनिर्धारित कार्यतालिका अनुसार सम्बोधन गर्न लागेको जनाएको छ।