काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिबाट रिटाएर्ड हुने समय आएको बताएका छन् । उनले रिटायर्ड हुनुअघि नै कांग्रेसलाई एकढिक्का बनाउने इच्छा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व. गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले पार्टी भित्रको गुटगत लडाइँप्रति चिन्ता व्यक्त गरेका छन् । सभापति देउवाले भने, ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो, हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’ उनले पार्टीभित्र एकता भए निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिने र अरु पार्टीसँग तालमेल गर्न नपर्ने बताएका छन् ।
उनले भने, ‘एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ, हिजो माओवादीसँग मिलियो, अहिले एमालेसँग मिलिएको छ, के गर्नुहुन्छ ? हामी ठूलो पार्टी भए पनि बहुमत थिएन । हाम्रो पार्टीमा सबै एक भयौं भने हाम्रो एक्लैले पनि बहुमत ल्याउन सक्छ ।’ निर्वाचनमा एक जनाले मात्र टिकट पाउने भएकाले टिकट नपाउनेले पाउनेलाई सहयोग गरेर अघि बढ्न सके पार्टी बलियो हुने उनको भनाइ छ ।
सभापति देउवाले भने, ‘सबै जातजातिलाई समेट्ने छ । तर एउटै पार्टीले बहुमत ल्याउन गाह्रो छ, ।’ स्वर्गीय गौरीदेवी प्रधान र उनका श्रीमान् श्यामकृष्ण प्रधानले देखाएको बाटोमा लागेर उनीहरुले छाडेका अपूरा काम पूरा गर्न आवश्यक रहेको बताएका छन् । प्रधान परिवार प्रजातन्त्रमा आस्था राख्ने समाजसेवी र सहयोगी मनको भएको भन्दै उनले आफू पनि प्रधान परिवारसँग नजिक भएको स्मरण गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाललाई समृद्ध बनाउने पार्टी कांग्रेस भएको बताएका छन् । उनले इतिहासलाई सम्झेर जनताको चाहनाअनुसार पार्टीलाई अघि बढाउन सके कांग्रेस बलियो बन्ने धारणा व्यक्त गरेका छन् ।
कांग्रेस नेता बिमलेन्द्र निधिले गठबन्धन आश्यकता र परिस्थिति हेरेर गर्न सकिने बताएका छन् । उनले एक्लै बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन गरेर ठूलो दलका रुपमा आउन सकिने बताएका छन् ।