काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागेका थुनुवा गंगबुबाट पक्राउ परेका छन् ।
आइतबार थुनछेक बहसका लागि लगिएका चोरी मुद्दाका आरोपित अदालतको शौचालयबाट फरार भएका थिए । काठमाडौं प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनी हतकडीसहित बालाजु बसपार्कबाट फेरि पक्राउ परेका छन् ।
अदालतको शौचालयबाट भाग्ने व्यक्ति रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– १ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही फरार थिए । २०८२ जेठ २० गते पक्राउ परेका शाहीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखेर अनुसन्धान गरिएको हो ।
उनलाई आइतबार म्याद थपका लागि प्रहरी हवल्दार चक्रबहादुर रोकायाको कमाण्डमा २ जनाको जिम्मामा थुनछेक बहसका लागि लगिएको थियो । तर ४ नम्बर इजलासमा थुनछेक बहस चलिरहँदा प्रहरी जवान छविराज रेग्मीको साथमा शौचालय गएका उनी हतकडीसहित फरार भएका थिए ।