काठमाडौं । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।
धनगढी उपमहानगरपालिका–७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बेलौरीमा २४ घण्टाको अवधिमा २६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षासँगै बाढी र डुबानको जोखिम भएकाले सावधानी अपनाउन विभागले भनेको छ ।
प्रहरीले बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको जानकारी दिएका छन् । प्रहरीका अनुसार धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ । धनगढी उपमहानगरपालिका–१, २, ३, ४, ५, ७, ८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएका छन् । करिब एक हजार घरधुरीमा पानी पसेपनि अहिलेसम्म क्षति भएको छैन् ।
यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि सोमबार दिउँसो विज्ञप्तिमार्फत् लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएका कारण बाढी वा डुबान हुन सक्ने विपत्तिको समयमा सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
उनले सुरक्षा निकाय लगायत सम्पूर्ण मातहतका निकायहरूलाई विपद्को समयमा उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।