काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मूल्य बढाएको हो । मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटिर १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले यी क्षेत्रलाई पहिलो वर्गमा राख्ने गरेको छ। यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
दोस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम गरिएको छ। काठमाडौं, पोखरा र दियालमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ र डिजेल, मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ।