काठमाडौँ । रूपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। दलहरूले उपनिर्वाचनका लागि उम्मेदवारबारे आन्तरिक छलफल अघि बढाएका छन्। उपनिर्वाचनमा उम्मेदवार हुन आकांक्षा देखाएकाहरूले पनि गतिविधिलाई तीव्रता दिँदै सामाजिक सञ्जालबाट प्रचार गर्न थालेका छन्।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई एक शब्द भाषणसमेत नगरी हराएका थिए। पोस्ट कोभिडका कारण बोहरा बोल्न सक्दैनथे। अन्तत यही कारण बोहराको गत चैत १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त भयो।
राजनीतिक दल उपनिर्वाचनमा केन्द्रीत भएका छन् । रास्वपाले रुपन्देहीमा आफ्नो शक्ति देखाउने तयारी गरेको छ । रास्वपाबाट सागर ढकाल चुनाव लड्ने चर्चा छ । सागर ढकाल तिनै युवा हुन्, जो डडेलधुरामा २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका थिए। सभापति देउवाले चुनाव जिते तर उनलाई ढकालले लोकप्रीय मत ल्याएर आफ्नो पक्षमा माहोल बनाएका थिए ।
ढकालले सामाजिक सञ्जालमा आम मानिसहरूको भावना बुझ्न खोजेका छन्। उनले रूपन्देही–३ इतिहास रच्न तयार हुनुहुन्छ? भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान तान्न खोजेका हुन्। उक्त स्ट्याटसमा उनले चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेले उपचुनावमा ५४ हजार १७६ मत प्राप्त गरेको र काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर जितेका बालेन शाहले प्राप्त गरेको ६१ हजार ७६७ मतको आँकडा राखेका छन्।
‘अब रूपन्देही– ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाईं–हामीले ६२ हजार मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ,’ उनले भनेका छन्। यता एमालेले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई उठाउने तयारी गरेको छ। त्यस्तै काग्रेसबाट बालकृष्ण खाणले चुनाव लड्ने मनशाय बनाएका छन् । तर खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकोले उनलाई कांग्रेसले टिकट दिन्छ कि दिँदैन यकिन छैन। त्यस्तै माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उम्मेदवार बनाउन खोजेको चर्चा पार्टीभित्र हुन थालेको छ।
उता राप्रपाले पनि दीपक बोहराकै दुई छोरालाई मनाएर एक जनालाई उम्मेवार बनाउन खोजेको छ । दीपक बोहराका दुई जना छोरा छन् । गौरव र प्रज्ज्वल। दलहरु उपनिर्वाचनमा सक्रिय हुँदा रुपन्देही ३ मा चुनावी माहोलले तताएको छ ।