काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । योसहित लगातार छैटौं दिन बजार बढेको हो । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २७०६.३६ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको कारोबार भएको छ । अन्य समूह आज सबैभन्दा धेरै ३.०६ प्रतिशतले बढेका छन् । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रिको मूल्य उच्च दरले बढ्दा यो समूहमा उल्लेख्य वृद्धि देखिएको छ ।
त्यस्तै फाइनान्स २.४९ प्रतिशतले बढेका छन् । बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३ तथा व्यापार ०.८२ प्रतिशतले बढेका छन् । विकास बैंक १.५३, होटल तथा पर्यटन ०.२५, हाइड्रोपावर १.०५, जीवन बीमा १.३०, माइक्रोफाइनान्स ०.०६ तथा निर्जीवन बीमा ०.५१ प्रतिशतले घटेका छन् । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.७०, अपरहेवाखोला हाइड्रोपावरको ५.१८ तथा जानाकी फाइनान्सको ४.९१ प्रतिशतले बढेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ८.५८ प्रतिशतले घटेको छ । सिन्धु विकासको ५.८१, खानीखोला हाइड्रोपावरको मूल्य ५.४३ प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, लक्ष्मी सनराइज बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर लगातार अगाडि रहेका छन् ।