आइतवार, आश्विन १८ गते २०८३

राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न किन डराउने : प्रधानमन्त्री

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी गरेका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उने यस्तो दाबी दोहोर्‍याएका हुन् ।

यसअघि पनि पटक–पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनको माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए । कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उनको भनाइ रहेको छ । उनले रामको जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसावले पनि अन्यत्र हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी टुरिजमको कुरा गर्छौं तर नेपालमा राम जन्मिएका अन्त कसैले त्यत्तिकै कथा हालेर हुन्छ । फलानो ठाउँमा जन्मिएका भनेर । राम जन्मिएका नेपालमा हुन् । नेपालको भूमिमा पर्छ, त्यो ठाउँ अहिले । उसबेला पनि नेपालै थियो भन्दिनँ म । के थियो, के थिएन, थारु गाउँ थियो कि के थियो ? तर अहिले त्यो भूभाग नेपालमा पर्दछ ।’

उनले भने, ‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नै कुरा हो । जसले रामलाई भगवान मान्छ, रामको जन्मभूमि पवित्र छ । यति प्रचार गर्न सक्दैनौँ हामी यति भन्न सक्दैनौँ यति आँट गर्दैनौँ । अफ्ठ्यारो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ, साँचो बोल्दाखेरी रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरी खान्छौँ । शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन् ।’

उनले यी सबै विषय रामायण, वाल्मीकिकृत रामायणमा उल्लेख भएको बताएका छन् । उनले भने, ‘वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ । मैले लेखेको होइन त्यो । विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ ।’

प्रधानमन्त्री ओलीले पर्यटन बोर्डले नेपालको प्रचार गर्न विदेश जानुपर्ने काम नरहेको बताएका छन् । अनलाइनका माध्यमबाट नेपालबाटै प्रचारप्रसार गर्न सकिने उनको भनाइ रहेको छ ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार