आइतवार, श्रावण २४ गते २०८३

राष्ट्रिय मानव अधिकार आयोगले तत्काल स्वास्थ्य सेवा सुचारु गर्न आग्रह गर्यो

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आयोग नेपाल चिकित्सक संघ तथा नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै चिकित्सक संघको नेतृत्वमा हिजोबाट जारी आन्दोलनका कारण नागरिकहरू अधिकारबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण गराएको हो । प्रवक्ता पाखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका अन्योलता तथा अस्पष्टताहरुलाई सार्थक वार्ता र संवादबाट समाधान गर्न तथा उपभोक्ता अदालतको निर्णयमा देखिएका असहमतिका सम्बन्धमा कानुनी प्रक्रियाको अवलम्बन गर्न र स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आयोग नेपाल चिकित्सक संघ तथा नेपाल सरकारलाई आग्रह गर्दछ, ।’

मुलुकभरका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा आकस्मिक तथा सघन कक्षबाहेकका स्वास्थ्य सेवा बन्द गरिँदा आमनागरिक स्वास्थ्यको अधिकारबाट वञ्चित हुनु परेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । चिकित्सकहरू हिजोदेखि देशभर सघन कक्षबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् । जुन विषयमा आयोगमा उजुरी समेत परेको प्रवक्ता पोखरेलले बताएका छन् । नागरिकले सरल र सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने हकको उल्लंघन भएको भनी आरोपमा उजुरी समेत प्राप्त भएको उनले बताएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको सरल र सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने हकको उल्लङ्घन भएको भनी आयोगमा उजुरी समेत प्राप्त भएको छ,  स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य नेपालको संविधानको धारा ३५ द्वारा प्रदत्त स्वास्थ्य सम्बन्धी हक, धारा ४४ द्वारा प्रदत्त उपभोक्ताको हक, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १२ द्वारा प्रदत्त स्वास्थ्यको अधिकार, मानव जीवन र मानव स्वास्थ्यसँग सम्बन्धित अन्य प्रचलित नेपाल कानून समेतको विपरीत कार्य हो ।’

स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्दका कारण लाखौँ मानिसको जीवन जोखिममा पर्नसक्नेतर्फ सचेत हुँदै स्वास्थ्य जस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी वोध गरी पेशागत मर्यादा कायम राखी कार्य गर्न सबै चिकित्सकहरूलाई आयोगले आग्रह पनि गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार