बुधवार, आश्विन १४ गते २०८३

भोटेकोसी बाढीमा बेपत्ताको संख्या २० पुग्यो, ७ जनाको शव भेटियो

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन् । उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका (१, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५), उत्तरगया गाउँपालिका (२, ४, ५), र कालिका गाउँपालिका १ रहेका छन् ।

बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ । त्यस्तै ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको छ । भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ । रसुवागढी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त भएको छ ।

त्यस्तै गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ । उक्त सडकखण्ड चर्किएको र धुन्चेदेखि टिमुरेसम्म सवारी आवागामन ठप्प रहेको पनि प्रहरीले जनाएको छ ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार