काठमाडौँ । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा सय दिन पूरा गरेका छन्। कार्यकारी निर्देशक शाक्यले यो अवधिमा श्वेतपत्र जारी गर्दै प्राधिकरणको प्रणालीगत सुधारमा जोड दिएको बताएका हुन्।
‘सय दिनको अन्तरालमा ठूला कामहरु गर्न सकिँदैन, मैले जति गरेँ ती सबै प्रणालीगत सुधारहरु मात्रै हुन्’, उनले मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा भने।
यस्ता छन् शाक्यका प्रमुख काम
.प्राधिकरणको तरलता व्यवस्थपन गर्न १० अर्ब अल्पकालीन ऋण लिन अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ।
.उत्पादन, प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नतिलगायतका काम गर्न २० अर्ब बराबरको ऋणपत्र जारी गर्ने अगाडि बढाइएको ।
.डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलसम्बन्धी विवाद समाधान गर्न धरौटी रकममा संशोधन, पुनरावलोकन समितिको अध्यक्ष नियुक्त गर्ने तथा पुनरवलोकनका लागि विवाद समाधानतर्फ काम गरिरहेको छ।
.पेमेन्ट गेटवे निर्माण गरिएको छ।
.चार्जिङ स्टेसन निर्माणका लागि १ करोड ८१ हजार करोड बजेट उपलब्ध गराएको छ।
.४३ एमभीए क्षमताबराबरको भगवानपुर, वीरेन्द्रबजार, बर्दिवास र जोगबुढाको सबस्टेसन सञ्चालन
.प्रसारणलाइन तथा सबस्टेसन निर्माणतर्फ क्रमशः १०४ सर्किट कि.मि र ५८६.५ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमिको प्रसारण प्रणाली तथा १४ हजार ३ सय ४९.५ एमभीए क्षमताको सबस्टेसन निर्माण सम्पन्न।
.प्रसारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि मार्गाधिकारभित्र पर्ने जग्गाको कित्ताकाट गर्ने प्रवाधान गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको।
.बाह्रबिसे न्यु खिम्ती ४ सय केभी प्रसारणलाइन निर्माणसम्पन्न
.नेपाल र चीनबीच निर्माण हुने अन्तर्देशीय प्रसारणलाइन आयोजना निर्माणका लागि चाइना नेपाल पावर ग्रिड इन्टरकनेक्सनको सम्भाव्यता अध्ययन कार्य अगाडि बढाउने निर्णय।
.कर्मचारी सेवाकालीन तालिमको सुरुवात
.प्राधिकरणको वित्तीय प्राविधिक तथा व्यवस्थापकीय पक्षहरुको विस्तृत मूल्याङ्कनलगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि ड्यु डिलिजेन्स अडिट डीडीए को प्रक्रिया अगाडि बढाइएको।
.बंगलादेश सरकारसँग भएको विद्युत् निर्यात सम्झौताबमोजिम सम्झौता अवधिका लागि एलसी खोली जुलाई १५ देखि नियमित रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको व्यवस्था
.दैनिक औसत ६२५ मेगावाट विद्युत् भारत निर्यात
.बाढीबाट क्षतिग्रस्त बनेको तामोकोशी जलविद्युत् पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको।