आइतवार, श्रावण २४ गते २०८३

भोटेकोसीको बाढी वर्षाका कारण आएको होइन, त्यसोभए कसरी अयो बाढी ?

मंगलवार , आषाढ २४, २०८२

काठमाडौँ । सोमबार बिहानै चीनतर्फबाट आएको बाढीले बितण्डा मच्चायो । रसुवाको भोटेकोसी नदिमा आएको बाढीले अर्बौको भौतिक क्षति गरेको छ । बाढीले मानविय क्षति पनि गरेको छ । बाढीमा ३ प्रहरी, ९ नेपाली र ६ चिनियाँ बेपत्ता भएका छन् । हालसम्म बेपत्ता हुनेहरुको संख्या २० जना पुगेको छ ।

नेपाल सीमापार हिमालय वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बाढीले करिब ३५ वटा गाडी र एक सयभन्दा बढी ईभी सवारी साधन बगाएको जानकारी दिए ।

उक्त बाढीका कारण नेपालको चीनसँगको सम्पर्क टुटेको छ । रसुवागढीमा आएको बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका रसुवागढीको मितेरी पुल बगाएको छ । बाढीले चीनको प्रशासनिक र भन्सार कार्यालय भवनअगाडि नेपालतर्फ ठुलो क्षति पुर्याएको छ ।

जसका कारण सवारीसाधन तथा मानिसहरूको आवतजावत पूर्ण रूपमा बन्द भएको छ । बाढीले रसुवा गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको ईभी चार्जिङ स्टेसन, रसुवागढी हाइड्रोपावरको ड्याम र निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्याएको छ ।

तर, रसुवाको भोटेकोसी नदिमा आएको बाढी वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलवार बिहान ३ बजे ठुलो बाढी एक्कासि आउँदा पानीको सतह साढे तीन मिटर बढेको थियो तर उक्त क्षेत्रमा पानी परेका कारण नभएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जानकारी दिए । 

नेपाल चिन सीमा नजिकै रहेको क्यान्जिङ मौसमी केन्द्र र धुन्सेमा रहेको मौसमी केन्द्रले रसुवाको सीमावर्ती क्षेत्रमा फाट्टफुट्ट मात्र पानी परेको देखाएको छ । उता पाल्पामा राखिएको मौसम जाँच राडारले समेत रसुवाको सीमावर्ती क्षेत्रमा २४ घण्टामा पानी परेको नदेखिएको विभागको ठहर छ । कसरी भएको हो भन्नेमा भूउपग्रहको तस्बिर हेरेर अध्ययन सुरु गरेको पराजुलीले जानकारी दिए । 

रसुवाको भोटेकोसी माथिको तिब्बती क्षेत्रमा धेरै हिमतालहरू भएकाले हिमताल फुटेर हुनसक्ने समेत अनुमान विभागले गरेको छ । बाढीको प्रभाव रसुवा हुँदै भोटेकोसी र त्रिसुली नदिमा परेको छ ।  विभागले प्रारम्भिक अवलोकनका आधारमा पुष्टि गरे पनि थप अनुसन्धान सुरु गरेको जनाएको छ । विश्व मौसम सङ्गठनको भूउपग्रहको सिस्टममा हेर्दा समेत पानी उक्त क्षेत्रमा पानी आएको देखिँदैन । 

प्रतिक्रिया
सम्बन्धित समाचार