बुधवार, आश्विन १४ गते २०८३

बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, एकको सकुशल उद्धार

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ ।

बिहीबार दिउँसो २ बजेतिर घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका छन् । सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेका थिए । एकजना बेपत्ता भए पनि स्थानीयले तत्कालै सशस्त्र प्रहरी बोलाउँदा उद्धार गरिएको थियो । उद्धार गरिएका बालक नदीको बीचमा फसेर उद्धार कुरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

ती बालक नै बगेको भनेर भाइरल भइरहेको भिडियो असत्य रहेको प्रहरीले दाबी गरेको छ । बेपत्ता बालक सुधीरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार