बिहिवार, आश्विन १५ गते २०८३

नयाँ स्टकबारे स्वर्णिमले भने– नेप्से सखाप पारेर भ्रष्ट नेतासँगको साँठगाँठका व्यक्ति पोस्न लाइसेन्स दिइँदै छ

बिहिवार , आषाढ २६, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले दोस्रो स्टक एक्सचेन्जको अनुमति दिनुपर्ने भनी अर्थसमितिबाट गराइएको निर्णय प्रक्रियामा प्रश्न उठाएका छन्।

उनले यो प्रक्रिया गलत रहेको भन्दै सरकार र नियामक बोर्डलाई जिम्मेवार हुन आग्रह गरेका हुन्। लामो समयदेखि अड्किँदै आएका नेप्से पुनर्संरचना र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका विषयमा बिहीबार अर्थसमितिमा छलफल भएको हो।  उनले भने, ‘२०८० साल कात्तिक २४ गते यो समितिले सर्वसम्मत रुपमा जुन निर्णय गर्‍यो, त्यसपछि लगभग मेरो मोहभंग भयो।’ 

त्यतिबेला आफूले नोट अफ डिसेन्ट लेखेको बताउँदै उनले समितिबाट सर्वसम्मत भएको निर्णयले आफ्नो सातो गएको र अहिलेसम्म नफर्केको उनले बताए। 

‘यसका केही कारणहरु मैले त्यतिबेला पनि भनेको थिएँ, लेखेको थिएँ। त्यसको एक महिना अगाडि हामीले एउटा नीति संवाद गरेका थियौँ। अहिले त्यति चर्चामा हुनुहुन्न, हुन त अहिलेको सत्तारुढ दलकै आर्थिक सल्लाहकार हुनुहुन्छ क्यारे’, उनले भने, ‘तर अर्थशास्त्र बुझेको अनुभवी, पूर्वअर्थमन्त्री युवराज खतिवडाले यो दोस्रो स्टक एक्सचेन्जको गेमचाहिँ प्रिपेड करप्सन नै हो भनेर हाम्रो पार्टीको कार्यक्रममा भन्नुभएको थियो।’ 

नेपाल स्टक एक्सचेन्जको विकास र विस्तारको नारा लगाएको धेरै समय भए पनि त्यसमा कुनै कदम नचाली नयाँ स्टकलाई लाइसेन्स दिन खोज्नु गलत भएको उनको भनाइ थियो। 

‘दूध दिइरहेको गाईलाई सखाप पारेर भ्रष्ट नेताहरूसँगको साँठगाँठ भएका व्यक्तिहरूलाई पोस्न लाइसेन्स दिन खोजिँदै छ। यो रवैया ठीक छैन।’ उनले २०८४ को चुनावपछि आफूहरू सरकारमा आएमा यस्ता निर्णय सबै खारेज गरिने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार