आइतवार, आश्विन १८ गते २०८३

विधानविपरीत कारबाही गरेको भन्दै असन्तुष्टहरू निर्वाचन आयोग पुगे

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेको भन्दै असन्तुष्टहरू निर्वाचन आयोग पुगेका छन् ।

पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वर्तमान महामन्त्री धवलशम्शेर राणा, अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलगायतका नेता अहिले आयोगसँग छलफलमा रहेका छन् । शनिबार भएको छुट्टै भेलाको निर्णय अनुसार संस्थापनइतर समूह निर्वाचन आयोग पुगेको हो । शनिबारको भेलाले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो ।

उनीहरूले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन् । केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।

यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ । राप्रपाको विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर हटाउनु पर्ने व्यवस्था छ । त्यसैले यो अवैधानिक भएको इतर समूहको आरोप छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार