काठमाडौं । तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । नयाँ आर्थिक वर्ष २०८२र८३ को पहिलो दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७५.८४ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २८७०.६३ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको कारोबार भएको छ । कुल २३९ कम्पनीको मूल्य बढ्दा ९ को घटेको छ । सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशतले बढेको छ ।
त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशतले बढेका छन् । तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।
इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको मूल्य ७.२८ प्रतिशतले बढेको छ । माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप लगातार अगाडि रहेका छन् । बजारको पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुगेको छ ।