काठमाडौं । माल्दिभ्समा आयोजना हुन लागेको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अक्टोबर १ देखि १३ सम्म हुने प्रतियोगिताको तालिका बुधबार सार्वजनिक गरेको हो ।
तालिका अनुसार नेपालले उद्घाटन खेल घरेलु टोली माल्दिभ्ससंग खेल्ने भएको छ । आयोजक माल्दिभ्ससँग नेपालले १ अक्टोबरमा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा प्रतिस्पर्धा गर्ने छ । ३ अक्टोबरमा हुने दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेलमा नेपालले ८ अक्टोबरमा भारतको सामना गर्ने छ ।
नेपालले लिग चरणको अन्तिम खेल ११ अक्टोबरमा बंगलादेशसँग खेल्ने छ । लिग चरणको शीर्ष स्थानमा रहने दुई टोलीबीच उपाधीका लागि १३ अक्टोबरमा फाइनल खेल हुने छ । पाँच राष्ट्र सहभागी साफमा यस पटक भुटानले कोरोना महामारीको कारण देखाएर सहभागी नहुने भएको छ भने पाकिस्तान प्रतिबन्धका कारण खेल्न पाउने छैन ।