आइतवार, श्रावण २४ गते २०८३

भक्तपुरस्थित मनोहरा फाँटबाट नयाँ प्रजातिको चरा अभिलेख (विज्ञप्तीसहित)

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । भक्तपुरस्थित समुद्र सतहबाट एक हजार ३१९ मिटर उचाइमा रहेको मध्येपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ ।

‘साइबेरियन स्यान्ड प्लोभर’ नामक उक्त चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ । नेपालका चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे समेतको टोलीले चरा अवलोकनका क्रममा असार ६ गते पहिलोपटक उक्त चरा देखेका थिए । टोलीका सदस्यहरूले उक्त चराको फोटो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । त्यसपछि सो चराको यकिन पुष्ट्याइँ गरिएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ ।

कमिटीमा प्राप्त विवरणहरूको अध्ययन, राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँग रायसुझाव सङ्कलन गरी नतिजामा पुगेको कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले  बताएका छन् । यो चरा आइयुसियनको रेड्लिस्ट अनुसार लोपोन्मुख सूचीमा पर्ने गर्दछ । यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रूपमा पाइन्छ भने बसाइँसराइको क्रममा चीन, फिजी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, पपुवा न्यूगिनी, फिलिपिन्स, ताइवान, टिमोर, अस्ट्रेलिया, न्युनिल्यान्डमा रेकर्ड भएको छ ।

नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या ९०२ पुगेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार