सोमवार, श्रावण २५ गते २०८३

चिनियाँ सीमामा बेपत्ता रुसी यात्रुवाहक जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । चिनियाँ सीमामा बेपत्ता भएको रुसी यात्रुवाहक जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन–२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो । उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ । टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो ।

जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो । ती हेलिकप्टरमा सवार उद्धारकर्ताहरूले टिण्डाभन्दा अगाडि नै ‍ जंगलमा धुवाँ आइरहेको फेला पारेका थिए । उनीहरूले आकाशबाटै अवलोकन गर्दा जहाजका भग्नावशेषहरू देखिएको भनेर रूसी अधिकारीहरूलाई उद्धृत गरेर अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

उद्धारकर्ताहरूले जहाज दुर्घटनास्थलमा जिवित मानिस भेटिने सम्भावना नरहेको भनेका छन् । जहाज दुर्घटनापछि आगो लागिसकेको र अहिले भग्नावशेषमात्रै बाँकी रहेको देखिँदा जिवित भेटिने सम्भावना नरहेको भनेर तासले लेखेको छ । जहाजमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु गरी ४९ जना सवार रहेको बताइएको छ । तीमध्ये ५ जना बालबालिका रहेका छन् ।

दुर्घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहेको भनिएको छ । यद्यपि दुर्घटनास्थलको फोटो÷भिडिओ सार्वजनिक भएको र स्थानीय अधिकारीहरूले पनि दुर्घटनाको पुष्टि गरेको भनिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार